विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य सुरु, बर्माबाट २६ जना नेपाल आइपुगे



काठमाडौँ। नेपाल सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य सुरु गरेको छ।

शुक्रबार बर्मामा अड्कीएका २६ जना नेपालीहरु त्रिभुवन विमानस्थलमा ओर्लेका छन्। पहिलो चरणमा २६ जना नेपालीलाई बर्मा सैनिकको जहाजमा ल्याइएको हो। नेपालमा अड्कीएका बर्मेलीहरुलाई उक्त विमानले फिर्ता हुनेछ।

त्यस्तै आजै युएइबाट दुई सयभन्दा बढी नेपालीहरु स्वदेश फिर्ता हुँदैछन्। १२ बजेसम्म आइपुग्ने भनिएपनि प्राविधिक समस्याका कारण दिउँसो तीन वजेमात्रै विमान नेपालमा आइपुग्ने बुझिएको छ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ। सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ। त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ।

सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ। नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ। ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ।

तस्बिर: विनोद कटुवाल