सुर्खेत। कर्णाली प्रदेशमा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ।
जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेगाउँका २० एक वर्षीय युवको कोरोनाबाट मृत्यु भएको हो। जेठ ८ गते भारतबाट आएका उनलाई १४ दिनसम्म नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो। ति युवको बिहीबार बिहान २ बजे घरमै मृत्यु भएको हो।
कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न उनको आरडीटी परीक्षण गरिएको थियो। तर, आरडीटीको रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन अवधि पूरा भएको भन्दै उनलाई क्वारेन्टाइनबाट बुधवारमात्रै घर पठाइएको थियो।
उनको मृत्युपछि बिहीबार मात्र स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो। सामाजिक विकास मन्त्रालययका अनुसार पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। ती युवको मृत्यु कोरोनाबाटै भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले पुष्टि गरेका छन्।
परीक्षणमा लापरबाही भएको यो पहिलो घटना भने होइन यसअघि दैलेखका एक युवको पनि कोरोनाबाट मृत्यु भइसकेको छ। ति युवको पनि मृत्यु भएपछि मात्र पीसीआर परीक्षण गरिएको थियो।