सुर्खेत। कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या २८९ पुगेको छ। दैलेखमा ११३ जना र मुगुका एक जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या करिब तीन सयको नजिक पुगेको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुको खत्याड गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिका दैलेखका छन्। यसअघि नारायण नगरपालिका ८७ जना संक्रमित भेटिएका थिए। योसँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १९५ पुगेको छ।