काठमाडौँ। भारतीय वैज्ञानिकहरुले नै भारतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको पुष्टि गरेका छन्।
हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ।
वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए३आइ’ नाम दिएका छन्। यस्तो भाइरस भारतमा जीनोम ‘जीनहरुको समूह’ सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ।
सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ।
भारतमा यतिबेला कोरोनभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। देशमा दुई लाख ७ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ। यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ। कोरोनाभाइरसको म्युटेसनको बारेमा विश्वभर अध्ययनहरु भइरहेका छन्।
प्रधामन्त्रीले भनेका थिए, ‘भारतको भाइरस कडा छ‘
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठको पहिलो साता कोरोना भाइरसका बारेमा भनेका थिए, ‘भारतबाट कडा खालको भाइरस आयो।’ सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका थिए।
अन्यत्र देखिएका भाइरसको तुलनामा भारतमा देखिएको भाइरस कडा खालको रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। त्यतिबेला भारतीय मिडियाले प्रधानमन्त्री ओलीको उक्त भनाइलाई ‘आधारहीन’ देखाउन कुनै कसर बाँकी राखेनन्।
भारतका केही टेलिभिजन च्यानलले यस विषयमा ‘टक शो’ नै चलाए। उनीहरुले प्रधानमन्त्री ओलीको उक्त भनाइ भारतलाई अपमानित गर्न, आलोचना गर्नमात्र केन्द्रित रहेको निश्कर्ष निकालेका थिए। तर, ओलीले भनेको कुरा मिल्न गएको छ।