काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामाका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे विज्ञहरुसँग छलफल गरेका हुन्।
छलफलका लागि प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका विज्ञ,अर्थविद,योजनाविद,नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बालुवाटार बोलाएका थिए। विज्ञहरुले कोरोना महामारी बढेको र थप जोखिमलाई ध्यानमा राख्न सुझाव दिएको नेपाल चिकित्सक संघका अध्यक्ष्य डा. लोचन कार्कीले बताए।
उनले भने, ‘कोरोनाका कारण क्वारेन्टाइमै मृत्यु हुने अवस्था आएको छ। यसमा ध्यान दिन सुझाव दिएका छौं। त्यस्तै फन्र्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको लागि स्वास्थ्य सामाग्रीहरु उचित प्रवन्ध मिलाउन र कोरोना परक्षणलाई तीव्र पार्ने काममा सरकार गम्भीर बन्नुपर्छ भनेर स्ुझाव दिएका छौं।’
डा. कार्कीसहित मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञहरुको उपस्थिति रहेको थियो।
तस्बिरः मुकुन्द कालिकोटे