कारोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ९२७ पुग्यो



काठमाडौँ। कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८२ हजार ९२७ पुगेको छ। त्यस्तै संक्रमितको संख्या ६४ लाख ७५ हजार ११९ पुगेको छ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ। त्यस्तै चीनमा एक चिकित्सको मृत्यु भएको छ। डा.हु वेइफेङको मंगलबार बिहान कोरोनाबाट मृत्यु भएको हो।

कोरोनाभाइरसको नयाँ तरिकाबाट उपचार गर्न सिकाएका वुहानका चिकित्सकको कोरोना संक्रमितलाई उपचार गर्दा गर्दैै मंगलबार बिहान मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएको छ। यसभन्दा पहिले पनि वुहान सेन्ट्र अस्पतालका चिकित्सकहरुले कोरोनाबाटै ज्यान गुमाएका थिए।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ। मृत्यु हुनेको संख्या ९ जना पुगेको छ। २७८ जना निको भएको छ।