जुम्ला। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन जिल्ला प्रशासन कार्यालय जुम्लाले तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।
बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिएका छन्।
कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उनले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिए। जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने उल्लेख छ। बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ।
जुम्लामा मंगलबारसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न, फलफुल, तरकारीलगायतका पसलहरु खुल्दै आएका छन्।