जाजरकोट। जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ मा भएको सामूहित युवा नरसंहारमा बेपत्ता थप एक युवकको शव भेटिएको छ।
जिल्लाको भेरी नगरपालिका ११ मटेलाका १७ वर्षीय गोविन्द शाहीको शव नगरपालिकाकै वडा नम्बर १२ खोदाखोला नजिकै नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
शव भेटिएको स्थलमा पुगेका एक प्रहरीका अनुसार गोविन्दको शव आँखामा घाउचोट भएको, बायाँ हात भाँचिएको र अनुहारमा निलडाम भएको अवस्थामा भेटिएको हो।
मुचुल्कास्थलमै रहेका भेरी नगरपालिका ४ का वडा सदस्य भद्रबहादुर शाही र सोती घटना संघर्ष समितिका संयोजक नगेन्द्र शाहले पनि हात भाँचिएको र अनुहार तथा शरीरमा चोट लागेको अवस्थामा शव भेटिएको बताएका छन्।
तर, डीएसपी श्रेष्ठले भने हात भाँचिएको पुष्टि गरेनन्। “मुचुल्का गर्न गएको टोली आइपुगेको छैन। अनुहार र शरीरमा चोटपटक देखिएको छ भन्छ हात त्यसविषयमा हात भाँचिएको, आँखा फुटेको केही जानकारी छैन।”
मुचुल्कास्थलमा रहेका अर्का एक प्रहरीले मुचुल्का गर्दा भाँचिएको भनेर किटान गर्न नमिल्ने बताए। आफूहरूले चोटपटक र शरीरका कुनै अंग (हातखुट्टा, घाँटी) लुलो देखेमा सोही अनुसार मुचुल्का प्रतिवेदन बनाउने उनले बताए। बाँकी पोष्टमार्टम रिपोर्टले बताउने उनको भनाइ छ।