दैलेखमा दुइदिनसम्म पनि कोरोना संक्रमितलाई आइशोलेट गरिएन



 

दैलेख। जिल्लाको नारायण नगरपालिकास्थित नारायण क्याम्पसमा रहेका कोरोना संक्रमण पुष्टि भएका १७ जनालाई दुई दिनसम्म पनि आइशोलेट नरेको पाइएको छ।

एक सय जनाका लागि बनाइएको ठाउँमा २१२ जना राखिएको छ। सामाजिक दुरीलगायतका मापदण्ड पालना गरिएको छैन। मानिसहरुलाई र्फम ओठ्याएर लाइन नै सुतेका थिए, साझा शौचालय थियो।

अव्यवस्थित बसाई कारण पखाला लाग्नेलगायतका समस्या देखिन थालेको थियो। त्यसमाथि संक्रमितको संख्या ३४ पुग्दा पनि उनीहरुलाई अलग गरिएन। क्वारेन्टिन स्थल नै कोरोना संक्रमण सर्न अखडा जस्तो बनेको छ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कँडेल कोरोना परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट समयमा नआउने र नारायण क्याम्पमा भएका संक्रमितको पूर्ण विवरण नआउँदा पनि समस्या भएको बताउँछन्।

१४ दिन क्वारेन्टिन राख्ने र यो अवधिमा पीसीआर टेष्ट गर्नुपर्ने सरकारको स्वास्थ्य मापदण्ड हो। दैलेखमा मात्रै होईन जुम्लाका कोरोना संक्रमितहरुलाई पनि तीन दिनदेखि सामूहितक क्वारेन्टाइनबाट अलग राखिएको छैन।

प्रजीअ कँडेलकाअनुसार ८५० जनाको स्वाब जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन र ७२५ स्वाब सुर्खेत पठाइएको छ। तर अझै सबैको रिपोर्ट आएको छैन। त्यसैले अब १० वा त्यसभन्दा बढी दिन क्वारेन्टिनमा बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गरेर घर पठाइने निर्णय भएको छ।