जुम्लाका कोरोना संक्रमित तिन दिनदेखि सामूहिक क्वारेन्टाइनमै



जुम्ला। जिल्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाका क्ववोन्टाइनमा पोजेटिभ देखिएका १७ जनालाई तीनदिन वितिसक्दा पनि आइसोलेशनमा सारिएको छैन।

आइतबार राति स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पिसिआर प्रविधिबाट जुम्लाको हिमा गापामा ८ र सिंजा गापामा ९ जनासहित २ जना प्रहरीमा कोरोना पुष्टि भएको रिपोर्ट सार्वजनिक गरेको थियो।

सोमबार सम्बन्धित निकायलाई यसका सन्दर्भमा जानकारी लिँदा कोरोना पोजेटिभ देखिएकाहरुलाई तत्काल आइशोलेशनमा राखिने बताएको थियो। तर, अहिलेसम्म पनि संयुक्त रुपमा क्वारेन्टाइनमा रहेका कोरोना पोजेटिभहरुलाई अगल राखिएको छैन।

सिंजा गापाको क्वारेन्टाइनमा रहेका वर्ष २३ का कोरोना पोजेटिभ एक युवाले कर्णाली सन्देशसँग भने, ‘हामी १३० जनाभन्दा धेरै मानिसहरु सँगै बसेका छौं। हामी ९ जनाको कोरोना पुष्टि भएको समाचारबाटै थाह पाएका हौ। कर्णाली सन्देशमा प्रकाशित समाचार पढेर हामीले यहाँ पनि ९ कोरोना पुष्टि भयो भन्ने थाह पायौं। त्यसपछि सोमबार मात्रै हामीले आफूलाई पनि कोरोना पुष्टि भएको खबर पायौं। तर, यत्रो समय वितिसक्दा पनि हामीलाई समूहबाट अलग राखिएको छैन। सँगै बस्ने, संँगै खाने, सँगै सुत्ने, एउटै धारो, बाथरुम प्रयोग गरिन्छ।’

कोरोना पुष्टि भएका २३ वर्षीय ति युवाले सोमबार बिहानदेखि नै कर्णाली सन्देशको सम्पर्क नम्बरमा फोन गरेर आफूहरुलाई स्थानीय सरकार र सम्बन्धित पक्षले लापरबाही गरेको सुनाएका थिए।

त्यसपछि हामीले सम्बन्धित निकायलाई सम्पर्क गर्दा सोमबार नै संक्रमितहरुको व्यवस्था गरिने बताएका थिए। कोरोना पोजेटिभ देखिएका मानिसहरुलाई तत्काल अलग राख्नुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता विपरित जुम्लामा तिन दिनदेखि संक्रमित र क्वारेन्टानमा रहेका सबै संयुक्त रुपमा बसिरहेका छन्।

यसकमा सन्दर्भमा जुम्लाका सम्बन्धित निकाय गम्भीर नभएको देखिएपछि हामीले प्रदेश सरकारसँग जानकारी दिनका लागि प्रयास गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले तत्काल यसका बारेमा कदम उठाउने बताएकी छन्।