११ महिने बालकसहित नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुग्यो



काठमाडौं। पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ११ महिने शिशुसमेत छन्।

दैलेखमा ४१ जना संक्रमित थपिएका छन्। उनीहरुमध्ये नारायण नागरपालिकाका २५ जना छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १७ देखि ३५ वर्षका ९ जना र सुर्खेतमा गरिएको परीक्षणमा १० देखि ३६ वर्षका १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

दुल्ल नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा २३ र ३० वर्षकी दुई महिला छन् भने २ वर्षका बालकदेखि ३९ वर्षका पुरुष छन्। यस्तै दैलेखकै देवकाँडाका ३ जना १८ देखि ३८ वर्षका पुरुष, सिमडाका २ जना २४ र ३९ वर्षीय पुरुष, सोतका ३५ वर्षीय पुरुष, सादुका २२ वर्षीय पुरुष र जुकेपानीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

महावु गाउँपालिकाका २५ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै जुम्लामा १९ जनामा संक्रमण पुष्टि भएको छ।हिमाका ८ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु २३ देखि ६३ वर्ष उमेरका पुरुष हुन्। सिन्जाका ९ जना छन्। उनीहरु १२ देखि ४५ वर्षका छन्। जुम्लामा कार्यरत २७ र ३४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सल्यानका १० जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु वनगाढ कुपिण्डेका २० देखि ४० वर्षका पुरुष हुन्। सुर्खेत बराहतालका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरु २० देखि २६ वर्षका छन्।

कञ्चनपुरमा ११ महिने बालक, अछाममा एक वर्षीय बालक, बैतडीका ३४ वर्षीय पुरुष, डोटीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै झापा बारादशीका ३२ र ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नवलपरासी पूर्व कावासोतीका २ जना २२ र ३६ वर्षीय पुरुष, विणा त्रिवेणीका १४ वर्षीय बालकको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

यसैगरी मनवानपुरका ६१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नर्भिक अस्पतालमा उपचाररत उनलाई अहिले पाटन अस्पताल लगिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया १७९८ पुगेको छ। उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन्।

त्यस्तै बाँकेमा ७ जना संक्रमित थपिएका छन्। उनीहरु डुडवाका १७ देखि ३५ वर्षका पुरुष छन्। दाङका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमित हुनेमा तुलसीपुर उपमहानगपालिकाका ५ जना छन्। उनीहरु १८ देखि २३ वर्षका पुरुष हुन्। गडवाका २ जना २४ र ३६ वर्षका पुरुष, लमहीका ४० वर्षीय पुरुष र राप्तीका ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

कपिलवस्तुमा ४० जना संक्रमित थपिएका छन्। त्यसमध्ये १२ जना शिवराजको क्वारेन्टिनमा छन्। उनीहरु १९ देखि ५५ वर्षका छन्। हरिहरपुरका ८ जना छन्। उनीहरु १९ देखि ३८ वर्षका छन्। यस्तै रंगीलाल माविको क्वारेन्टिनमा रहेका ११ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनीहरु १७ देखि ३५ वर्ष उमेर समूहका छन्। महाराजगञ्जका २ जना ३० र ३३ वर्षका पुरष र बाणगंगाका २ जना ३१ र ३८ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

कपिलवस्तुकै चन्द्रौटाको क्वारेन्टिनमा रहेका ३ जना र रघु सामुदायिक स्कुलको क्वारेन्टिनमा २ जना २७ र ४६ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

रौतहटमा १८ जना संक्रमित थपिएका छन्। परोहाका १४ जना संक्रमित १९ देखि ४५ वर्षका पुरुष हुन्। यमुनामाई गाउँपालिकाका ४ जना छन्। संक्रमित हुनेमा २० वर्षीय महिला र २२ देखि ३५ वर्षका तीन पुरुष छन्।

धनुषामा ७ जना संक्रमित थपिएका छन्। उनीहरु मध्ये धनौजीका ४ जना छन्। उनीहरु १८ देखि ३२ वर्षका छन्। हंशपुरका दुई जना १९ र २० वर्षका पुरुष र प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै सिराहाको सूर्यनारायण सत्यनारायण क्वारेन्टिनमा रहेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। उनीहरु १८ देखि ६० वर्षका छन्।

जनकपुरको प्रादेशिक अस्पतालमै रहेका उदयपुरका ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। महोत्तरीमा २ जना थपिएका छन्। लहोरपट्टी क्वारेन्टिनमा रहेका उनीहरु दुवै १८ वर्षका छन्।

सर्लाहीका ३८ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै जनता माविको क्वारेन्टिनमा छन्। संक्रमित हुनेमा ९ वर्षीयासहित ५ जना महिला छन् भने अरु पुरुष हुन्। यस्तै कैलालीमा १४ संक्रमित थपिएका छन्। २ वर्षीया बालिकासहित तीन महिला छन् भने ११ पुरुष छन्। उनीहरु ५ वर्षका बालकदेखि २७ वर्षका छन्।