कर्णालीमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय



सुर्खेत। कर्णाली प्रदेश सरकारले हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो। प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १९ गतेदेखि यार्सा (जीवनबुटी) संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकहरुलाई सुर्खेत क्वारेन्टिनमा व्यवस्थापन गर्ने र उनीहरुलाई सम्बन्धित जिल्ला प्रवेश गर्न नदिई यार्सा संकलन र विद्यालय सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय सरकारले गरेको हो। साथै भारतबाट आएका नागरिकहरुलाई क्वारेन्टिनमा १४ दिन राखेर आवश्यक परीक्षणपश्चात् संक्रमित देखिएका व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले संक्रमित तर कुनै लक्षण नेदेखिएका बिरामीलाई जिल्लामा तहमा तोकिएको आइसोलेसनमा राख्ने, लक्षण देखिनुका साथै सम्भावित जोखिम भएका बिरामीलाई जिल्ला अस्पताल र जटिल अवस्थाका संक्रमित व्यक्तिलाई तोकिएको विशिष्टकृत अस्पतालमा व्यवस्थापन गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

संक्रमण नदेखिएका बिरामीलाई थप २१ दिन सेल्फ क्वारेन्टिनमा रहने सर्तमा घर पठाइने छ। संक्रमित बिरामीलाई आइसोलेसन र थप उपचारका लागि अस्पतालमा पुर्‍याउन एम्बुलेन्स र मृतक संक्रमितका शव व्यवस्थापन गर्न शववाहनको व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गर्ने निर्णय भएको छ।

साथै बैठकले प्रदेशको प्रवेश नाकामा होल्डिङ एरिया व्यवस्थापन गरी आवश्यक अभिलेख व्यवस्था गर्ने, तोकिएको जिल्ला वा स्थानीय तहका क्वारेन्टिनमा पुर्‍याउने व्यवस्था गर्ने जिम्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिइएको छ।