शिक्षामन्त्रीले नैतिकताका आधारमा बाटो खालि गर्नुपर्छ: सभापति शाही



काठमाडौँ। अनेरास्ववियूका केन्द्रीय सदस्य एवं (आरआर) क्याम्पसका सभापति तपेन्द्रजंग शाहीले शिक्षामन्त्री गिरीराजमणी पोखरेलको राजिनामा माग गरेका छन्।

हालै विनियोजित वजेटको बुँदा नम्बर १६६ लाई लिएर अनेरास्ववियूले विरोध गरिरहेको छ। केन्द्रीय समितिको तर्फबाट समेत विरोधसहितको विज्ञप्ति जारी भइसकेको छ। यसै सन्दर्भमा केस शाहीले सामाजिक सञ्जाल मार्फत घुमाउरो तरिकाले शिक्षामन्त्रीलाई सुझाव दिँदै उक्त बुँदा सच्याउन माग गरेका छन्। तथापि सच्याउन सकिँदैन भने नैतिकताको आधारमा बाटो खालि गर्न सुझाव दिएका छन्।

उनले लेखेका छन्, ‘सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा सरकारी स्कूलको गुणस्तर सुधारको जिम्मा निजी स्कूललाई दिने उल्लेख गरेर नेपाल कम्युनिस्ट पार्टीको मुल्य मान्यताको धज्जी मात्रै उडाएको हैन सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको स्पष्ट देखिन्छ। बजेटको बुँदा नम्बर १६६ मा भने माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरिएको छ।’

उनले अगाडि लेखेका छन्, ‘बजेटको उक्त बुँदालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विज्ञप्ती निकालेर पानीमाथिको ओभानो बन्ने प्रयत्न गरेर पन्छिन खोज्नु बाहेक अरु केही हुन सक्दैन। आफ्नो मन्त्रालयको शीर्षकबारे मलाई थाहा भएन भनेर पन्छिनुको साटो नैतिक जिम्मेवारी लिएर उक्त बुँदा तुरुन्तै हटाउन पहल होस् अन्यथा राजीनामा दिएर बाटो प्रसस्त गरियोस्।’