काठमाडौँ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
भारतको रूपैडिया नाकाहुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा पर्दा मृतक १२ सँगै २० जना घाइते भएका छन्।
११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ।
घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका छन।
दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ। मृतक ११ पुरुष र एक महिला छन्।