बाजुराकी दुई वर्षीया बालिकासहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


धनगढी। बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड १९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।

बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन्। भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो।

नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रुपचन्द्र बिकले बताए। डा. बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो।

शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो। बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले जानकारी दिए। बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।