डोल्पा। कम्युनिष्टहरुले जब वर्ग संघर्ष भुल्छन, त्यसपछि प्राप्त उपलब्धीहरु गुम्ने र सिमित व्यक्तिको लागि उपयोगी बन्छन्।
गत बुधबार डोल्पाका एक पूर्वमाओवादी कमाण्डरले भेरीमा हाम फालेर जीवन समाप्त पारे। जीवनभर पार्टीकै लागि बलिदान गरेका उनले आफ्नो भएको सबै सम्पत्ती राष्ट्रियकरण गरे। आफ्नो उर्जाशील जीवन र समय पार्टीलाई दिएका लोकबहादुर चलाउनेले ६० वर्षको उमेरमा भेरी नदिमा हामफालेर आफ्नो जीवन त्याग गरेका हुन्।
पार्टीलाई नै आफ्नो सारा जीवन सुम्पेका चलाउनेको निधनमा पार्टीमा एक शब्द पनि खर्च गरेन। उनको निधनमा श्रद्धाञ्जली समेत नदिएर अपहेलना गरेको भन्दै पूर्व माओवादी लडाकूहरुले दुःख ब्यक्त गरेका छन्।
पार्टीमा बबरको नामले चिनिएका लोकबहादुर आफ्नो त्याग र बलिदानीको कुनै कदर नभएपछि रुष्ट हुँदै गएका थिए। उनी ति नेता हुन् जसले १९ वर्षअघि २०५८ माघ २ गते सुर्खेतमा जेल ब्रेक गरेका थिए। त्यतीबेला १५ जना आस्थाका बन्दीहरूले सुर्खेत जेलब्रेक गरेका थिए।
माओवादी जनयुद्धमा सुरुदेखि नै होमिएका लोकबहादुर चलाउने (बबर) ले गत बुधवार आफ्नो जीवनलाई सदाका लागि उर्लदो भेरीमा विर्सजन गर्नुका पछाडी उनलाई पार्टीले गरेको वेवास्ता नै थियो।
जनयुद्धकाल र त्यसपछि पनि जिल्ला र कर्णाली क्षेत्रमा कमरेड बबरका नामले चर्चित चलाउनेलाई पार्टीले निकै वेवास्ता गरेको थियो। वृद्ध हुँदै गपछि उनको स्वास्थ्यमा समस्या आयो। सबै सम्पत्ती राष्ट्रियकरण गरेका कारण उपचार गर्ने पैसा पनि थिएन। पार्टी र प्रदेश सरकारलाई आफ्नो उपचारका लागि पटक पटक आग्रह गरे। तर, उनको आग्रह कसैले सुनेन। चलाउने जनयुद्धमा शुरूदेखि नै संलग्न इमान्दार र कर्तव्यनिष्ठ नेता रहेको उनका युद्धकालिन सहकर्मीहरू बताउने गरेका छन्।
कर्तव्यनिष्ट भएर लागेका उनलाई सोही पार्टीले गरेको व्यवास्ता नै आफ्नो जीवन त्याग्ने कारण बन्यो। उमेरले पनि वृद्ध भइसकेका चलाउनेले देह त्याग गर्नुका पार्टीप्रतिको वितृष्णा र पार्टीले गरेको व्यवास्ता प्रमुख कारण रहेको जिल्लाका नेकपाका नेताहरू बताएका छन्। उनको उपचारमा त प्रदेश सरकार र पार्टीले व्यवास्ता गर्यो नै निधनपछि पनि उनलाई सम्मान गर्न उचित सम्झेन।
भेरी नदिमा आफ्नो जीवन समाप्त गरेका चलाउनेको सम्झनामा श्रद्धाञ्जली समेत ब्यक्त गरिएन। पार्टीले झण्डासमेत ओढाएन। औपचारीक रुमा एउटा शोक बक्तब्य पनि निकालिएन।
उनका समकालिनहरुले सामाजिक सञ्जालमार्फत श्रदान्जली दिएपनि पार्टीले आधिकारिक रुपमा श्रद्धान्जलीसम्म नदिएको भन्दै नेकपाकी महिला नेतृ काली चलाउनेले आपत्ति जनाएकी छिन्।
महान योद्धाले त्यसरी जीवन त्याग गर्दा पनि डोल्पाले एउटा सेतो कागजमा कालो मसी खर्चेर गरेर दुई शब्द कोर्न पनि चाहेन, चलाउनेले भनिन्, पार्टीलाई विशाल बनाउने उनको योगदानको पार्टीले कदर गरेन। उनले यस वारेमा पार्टी नेतृत्वसँग प्रश्न गर्ने जनाएकी छन्।