काठमाडौँ। भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले एक राउण्ड हवाई फायर गरेको छ।
सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०/४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर गरेको हो। सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।
हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ। सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ।