एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको अर्को झट्काका लागि तयारी अवस्थामा रहनुपर्ने चेतावनी दिएको छ। संगठनका एक वरिष्ठ अधिकारी डा. डेबिड नबारोले कोरोना भाइरसको अर्को एउटा झट्काका लागि तयारी रहनुपर्ने चेतावनी दिएका छन्।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, त्यती धेरै कोरोना भाइरस संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ । यसका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ।’
संसारका विभिन्न देशले लकडाउनमा खुकुलोपन अपनाउन थालेपछि डब्ल्युएचओले चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच कोरोना भाइरसबाट ल्याटिन अमेरिकी देश ब्राजिलमा पछिल्लो २४ घन्टामा २६ हजार ४ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।
क्रोएशियाले भने १० युरोपली देशका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको छ । पर्यटन क्षेत्रको प्रवर्धनका लागि यस्तो निर्णय गरेको क्रोएशिया सरकारले जनाएको छ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी करिब ६० लाख व्यक्ति कोरोना भाइरसद्वारा संक्रमित भइसकेका छन् । तीमध्ये तीन लाख ५९ हजारको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ।