सुर्खेत। भारतबाट फर्किनेको संख्या बढिरहेको बेला कर्णाली प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने किट अभाव भएको छ। तत्काल किट खरिद नगरे परीक्षण नै प्रभावित हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
अहिले सुर्खेतको प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) र प्रोसेसिङ गर्ने सामग्रीकोे अभाव छ। प्रदेश सरकारले बबई नाकाबाट प्रवेश गर्ने सबैको आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरे पनि किट सकिएपछि अन्योल थपिएको छ।
अनुमान गरेभन्दा धेरै नागरिकको परीक्षण गर्नु परेपछि किटको अभाव भएको प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले बताइन्। किटले मुश्किलले एक(दुई दिन मात्रै धान्ने उनको भनाइ छ।
अनलाइन खबरका अनुसार कर्णालीमा बिहीबारसम्म १२ हजार १२७ जनाको आरडीटी र ६ हजार १९२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। यही जेठ ३ गतेयता मात्रै मुख्य नाका बबई हुँदै १८ हजार ३०४ जना कर्णालीमा भित्रिएका छन्। उनीहरु सबै भारतबाट फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। हालसम्म पहिचान भएका कर्णालीका सबै संक्रमित भारतबाटै आएका हुन्।
अहिले पनि भारतबाट दैनिकजसो चार हजार भन्दा बढी संख्यामा नागरिकहरु कर्णाली प्रवेश गरिरहेका छन्। नाकाबाट प्रवेश गर्नेको संख्या बढेसँगै प्रदेश सरकारलाई व्यवस्थापन गर्न हम्मे(हम्मे परेको छ।
व्यवस्थापनमा समस्या भएपछि शुत्रबार बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले भारतीय सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ। भारतबाट फर्किने नागरिकको संख्या ठूलो भएकोले मन्त्रिपरिषदको बैठकले पनि महामारी रोकथाम गर्न भन्दै नेपाली सेना परिचालनको अनुमति मागेको छ।
स्वाब जुम्ला पठाउन थालियो
सुर्खेतमा थ्रोट स्वाबको नमूना परीक्षणको भार बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप स्वाब पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बिहीबार ८ सय ८० स्वाब जुम्ला पठाएको जनाएको छ।
प्रदेश अस्पताल सुर्खेत र पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा रहेको मेसिनले दैनिक ९९ वटा स्वाब मात्रै परीक्षण गर्दै आएका छन्। तर पछिल्लो समय स्थानीय तह र जिल्लाले समेत स्वाब पठाउन थालेपछि परीक्षणका लागि जुम्ला पठाउन थालिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
जुम्ला पठाइएका स्वाब दैलेख र सुर्खेतका हुन्। कर्णाली प्रदेशमा स्वास्थ्य पूर्वाधारको हिसाबले जुम्लाको अवस्था मजबुत रहेको छ। प्रतिष्ठानको शिक्षण अस्पतालमा कोरोना संक्रमितको लागि १२० आइसोलेसन बेड रहेका छन्। सुर्खेतस्थित प्रदेश अस्पतालमा भने आइसोलेसन बेड संख्या ७० मात्र रहेको छ।