सीमा विवादका बारेमा भारतीय राष्ट्रिय कांग्रेसको चासो



काठमाडौँ। नेपाल र भारतबीचको सीमा विवादलाई लिएर भारतीय राष्ट्रिय कांग्रेसले चासो देखाएको छ।

कांग्रेसका पूर्वअध्यक्ष तथा नेता राहुल गान्धीले नेपाल र भारतबीच अहिले सतहमा आएको सीमा विवादबारे भारतीय जनता पार्टीको सरकार पारदर्शी नभएको आरोप लगाए।

राष्ट्रिय कांग्रेसले मंगलबार गरेको ‘ई–पत्रकार सम्मेलन’ मा गान्धीले नेपाल र चीनसँग भारतको सीमा विवाद किन भइरहेको छ यसबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उल्लेख गर्दै यो समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

यो विवादको पछिल्लो अवस्था बारेमा कांग्रेस जानकार नरहेको बताउँदै गान्धीले भनेका थिए, ‘स्पष्ट जानकारी नआएसम्म विवादबारे बोल्दा झन अन्यौल आउँछ ।’ यसअघि भारतीय कांग्रेसका प्रवक्ता अशोक सिंघ्वीले ट्वीट गर्दै नेपालजस्तो दशकौं पुरानो घनिष्ट मित्रसँग पनि भारतको निकै ठूलो दूरी बढउदा सरकारले जवाफ दिनुपर्ने उल्लेख गरेका थिए।

नेपालसँग सीमा विवादमा आएको भारतले अर्को ठूलो छिमेकी चीनसँग पनि सीमाकै तनावमा परेको छ । सिक्किम र लद्दाखमाको सीमावर्ती क्षेत्रमा सीमालाई लिएर यी दुई छिमेकीबीच केही दिनयता निकै तनाव बढेको छ। विभिन्न अपुष्ट समाचारहरु आइरहेका र सुरक्षा बैठकहरु तारन्तर भइरहेको छन् । नेपालसँगको सीमा विवाद पनि चीनसँग जोडेर त्यहाको सुरक्षा निकायले हेरेको विषय थप गम्भीर छ ।

नेपाली भूभाग अतिक्रमण गरी मानसरोवर जाने सडकनिर्माण गरेको र त्यसको उद्घाटन रक्षामन्त्री राजनाथ सिंहले गरेपछि यो विवादले थप उचाई लिएको हो । भारतीयहरु नेपाल हुँदै मानसरोवर जाने गरेकोमा दिल्लीबाट छोटो रुटको रुपमा त्यसलाई विस्तार गरिएको हो । राहुल दुई वर्षअघि नेपालको बाटो हुँदै मानसरोवरको यात्रामा गएका थिए।

सीमाको विषयमा कांग्रेसलगायत विपक्षी दलले नेपालप्रति कस्तो नीति लिने स्पष्ट पारेका छैनन । जवकी भारतले आर्थिक नाकाबन्दी ०७२ सालमा लगाउँदा संसद्मा नै कुरा उठाएका थिए।