संकटमा रहेका घरपरिवारलाई सहकर्मीको राहत



कोहलपुर। सहकर्मी समाज बाँकेले सोमबार कोहलपुर नगरपालिका वडा नं. ११ मा बस्दै आएका गन्धर्व समुदायका ३३ घरपरिवारहरुका लागि ५० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ।

बुधबार सिमान्तकृत तथा अति जोखिममा रहेका गन्धर्व समुदायका ३३ घरपरिवारलाई कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापा र सहकर्मी समाज बाँकेका निमित्ति कार्यकारी निर्देकश राजाराम गुप्ताले संयुक्त रुपमा राहत वितरण गरेका छन् । प्रति परिवार २५ केजी चामल, २ केजी दाल र १ लिटर तेल वितरण गरिएको छ।

लकडाउनको असर सबैभन्दा पहिला यस्ता विपन्न समुदायका मानिसहरुमा परेका हुनाले वडा कार्यालयले पनि पहिलो चरणमा गन्धर्व समुदायका सबै घरपरिवारहरुलाई खाद्य सामाग्री वितरण गरेको वडाध्यक्ष कर्ण बहादुर थापाले बताए।

उनले भने,–‘हाललाई वडामा भौतिक निर्माणका सम्पूर्ण कामहरुलाई स्थागित गरेका छौं। सबैभन्दा पहिला वडामा बसोबास गर्ने र जीवनयापन गर्न निकै कठिन भएका समुदायलाई विभिन्न राहतका प्याकेजहरु वडा कार्यालय तथा दातृ निकायहरुको सहयोगमा वितरण गर्दै आएका छौं।’

पछिल्लो समय कोरोनोका डरले आफूहरुको पेशा नै संकटमा परको र साँझ विहानको जोहो गर्न निकै अप्ठ्यारो परेको विरवहादुर गन्धर्वले बताए। उनले भने, हामीहरु गीत गाएर, सारंगी रेटेर जीवन गुजारी रहेका छौं तर अहिले त्यो अवस्था छैन । लकडाउन र कोरोना भाइरस संक्रमणको डरले स्थानीय निकाय र प्रशासनले पनि बाहिर नजान भनेको छ । यसले गर्दा साँझ विहान खाने गाँस जुटाउन निकै अप्ठ्यारो परेको छ।’

कोरोनाको महामारीले देशैभरि लकडाउन भएको अवस्थामा अति सिमान्तकृत, लोपोन्मुख तथा जोखिममा रहेका घरपरिवारलाई राहत वितरण गरिएको समाजका निमित्त कार्यकारी निर्देशक राजाराम गुप्ताले बताए। उनले भने,–‘पहिला बाँचौ भन्ने कुरालाई आत्मसात गर्दै अति जोखिममा परेका समुदायलाई राहतकोे कार्यक्रम ल्याएका छौं।

लकडाउनका कारण गीत गाएर आफ्नो जीवनयापन गर्दै आएका गन्धर्व जातीको पेशा नै संकटमा परेको हुनाले त्यस्ता समुदायका घरपरिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेका छौं । लकडाउन अझै लम्बिने अवस्था आए र दातृ निकायहरुले सहयोग गर्ने चाँसो देखाए राहतको कार्यक्रमहरुलाई फेरी जोड्नेछौं ।’ उनले स्थानीय तहको मापदण्ड र सम्बन्धित समुदायको अवस्था अनुसार आफूहरुले सहयोग गरेको बताए।

हालसम्म सहकर्मी समाज बाँकेले कोहलपुर नं.१४ मा रहेका चिडिमार समुदायका ३२ घर, डुडुवा गाउँपालिका–६ हिरमिनियाका १०० घर, जानकी गाउँपालिका–३ मा रहेका कुसबधिया समुदायका ४७ र नेपालगजं उपमहानगरपालिका–२० मा रहेका कुसबधिया समुदायका २० तथा बर्दियामा रहेका मंगता र गन्धर्व जातीका ८४ घर परिवारलाई पहिलो चरणमा खाद्यान्न सामाग्री वितरण गरिएको समाजका निमित्त कार्यकारी निर्देशक गुप्ताले बताए।