रुकुम घटनाका बारेमा काठमाडौँमा प्रदर्शन



काठमाडौँ। रुकुममा अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

नेपाल दलित विद्यार्थी संघले मंगलबार दिउँसो राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन्।

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो। अन्य २ जनाको शव पनि भेरी नदीमा भेटिएको छ। सोही घटनामा अन्य ३ जना बेपत्ता छन्।

प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ। मंगलबारको संसद बैठकमा पनि सांसदहरूले माग गरेका छन्। अन्य विभिन्न संघ–संस्थाहरूले पनि गम्भीर अमानवीय घटना भएको भन्दै दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।