काठमाडौँ। गत शनिवार साँझ प्रेमीकालाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिडेँका नवराज बिकको त्यो सपना माया प्रेमका दुश्मनहरुले चकनाचुर पारिदिए।
आज उनी लास बनेर अस्पतालको शवगृहमा छन्। उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आईतबार साँझ भेरी नदि मै मृत फेला परेका छन्। जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की १७ वर्षीया अञ्जली मल्ल (नाम परिवर्तन ) सँग प्रेम सम्वन्ध थियो।
उनकी प्रेमीकाले घरदेखि तलको लिन आउनु भनेपछि आफुहरु नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आक्रमणबाट भागेर बाँच्न सफल महेश कार्कीले बताए ।
अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, ‘नवराज उमेरमा मेरो दाजु पर्छन । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्वनध छ भन्ने कुरा अलिअली मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनु प¥यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौं । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् । त्यसपछि अरु तीन जना थपिए १९ जना भएर गयौं । सबैलाई दाई ( नवराज ) ले बेहुली लिन जानु प¥यो भन्दै हुनुहुन्थ्यो ।’
केटीको घरमा नपुग्दैमाथि घरबाट आफूहरुमाथि ढुृङ्घामुढा भएको सुनाए । ‘मैले ती युवतीको घर देखेको थिएन । उनलाई चिनेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथी घरबाट एक्कासी एउटी महिला चिच्चाएको आवाज आयो । साला फेरी आए डुमहरु…फेरी आयो… तिमीहरुलाई आज मारेरै छाड्नु पर्छ भन्दै चिच्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,’ उनले भने, ‘उनीहरुले माथी घरबाट ढुृङ्घामुढा गर्न थाले पछि हामी भाग्यौँ । रात परिसकेको थियो। त्यस क्रममा पछाडि फर्केर हेर्दा गाउँ नै उल्टिएर आएको देख्यौँ । दायाँ बायाँ लुक्ने भाग्ने ठाउँ थिएन । भेरी नदीतिर भाग्यौँ । १९ जना मध्ये भेरी नदीमा हाम्फाल्ने ११ जना थियौं। ५ जना नदि तर्न सफल भयौं ।
कार्कीका अनुसार नदीमा हाम फालेका ६ जना बेपत्ता मध्ये दुई जनाको मृत्यु भइसकेको थियो। केही साथीहरुलाई गाउँलेहरुले कुटेर प्रहरीमा बुझाए । नदीमा हाम्फाल्दसम्म माथिबाट ढुङ्घा बर्साउँदै थिए।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबु आमालाई नियन्त्रणमा लिई बयान लिइरहेको उनले बताए। उनीहरुबीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार यो समाचार तयार पार्ने बेलासम्म बेपत्ता ५ जना अझै फेला परेका छैनन।
यहाँबाट सुरु हुन्छ यी जोडीको प्रेम सम्वन्ध
मृतक बिकका परिवारजनका अनुसार गत पुस महिनामा रुकुममा आयोजना गरिएको महोत्सवले जुराएको थियो त्यो जोडीको पहिलो भेट। त्यस अघिसम्म उनीहरुको सम्बन्ध के थियो भन्नेबारे परिवारजनलाई थाह छैन । भर्खर १६ पुगेर १७ मा लागेकी थिइन नवराजकी प्रेमीका।
यसै वर्ष एसईई दिने तयारीमा छन्। प्रेम नवराजले कक्षा १२ उत्तिर्ण गरेर प्रहरी सेवा तर्फ प्रवेश गर्ने तयारी गर्दै थिए। नवराजकी दिदी सरिता बिकका अनुसार ति किशोरी परिवारलाई समेत आफुहरुको प्रेम सम्बन्धको ईजहार खोल्ने गरि त्यसै रुकुम महोत्सवमा आएको दिन नवराजको घरमा बस्न आएकी थिइन्। उनी त्यस बेला तीन दिन र दोश्रो पटक पनि आएर चार बसेर गएकी थिइन्। चैत्र महिनामा उनका भाइ पनि एक हप्ता बसेर गएका थिए।
‘त्यतिबेला तिम्रो बाबु आमाले स्वीकार गर्न सक्दैनन् भनेर हामीले सम्झाएका हौं,’ दिदी सरिताले भनिन् ,’केही हुन्न हाम्रो बुवा पनि माओवादी हो। जातपातको कुरा गर्नु हुन्न। अहिले भर्खरै हामीले विवाह गर्दैनौं ८ वर्षपछि गर्ने हो भन्दै थिइन्।’
ति किशोरीका बाबुले भने आफूले जातीय कारणबाट उनीहरुको सम्वन्ध टुटाउन नचाहेको बताए। उनले भने, ‘त्यसो होइन छोरीको उमेर भर्खर अहिले १७ वर्षको भयो। यसपाली एसईई दिने तयारीमा छ। त्यसैले मैले अहिले विवाह नगर भनेको हुँ।’
‘त्यसो त केहि दिन यतादेखि ती दुईबिचको सम्वन्ध टाढिएका थियो। उससँग फोन ब्लक गरेर बसेकी छ। त्यसैले उसले बोलाएर होईन आफै आएका हुन् । गाउँलेहरुलाई मेरी श्रीमतीले नबोलाएको भए यत्तिका जना जुटेर आएकाहरुले हामीलाई नै मारेर फल्थे त्यसैले गाउँले लगार्ने क्रममा आफै भेरी नदीमा हामफालेको हुन्,’ उनको यस्तो जिकिर थियो ।
उनले बैशाख १७ गते पनि नवराज र उनका केही साथीहरु छोरी बसेको कोठामा आएर ढुङ्घा फालेको थाह पाएपछि प्रहरी बोलाएर पठाएको बताए । ती किशोरीकी आमाले पनि आफुहरुलाई मार्ने डरले गाउँले बोलाएको बताइन्।
”छोरी र उनको सम्वन्ध पहिल्यै छुटि सकेको उनको भनाइ थियो। ती किशोरीले पनि आफुले नबोलाएको दावी गरिन्। मैले बोलाएकी होइन उ आफै आएको हो। मेरा उससँग सम्वन्ध थियो। फागुन महिनामा म उसको घरमा बस्न गएकी पनि हुँ । म सरी भन्छु । हो केहि समयसम्म म उसँग नजिक थिएँ तर पछि मन परेन र छाडेकी हुँ,’ उनले भनिन।
पेटमा बच्चा छ भनेको समेत सुनिन् आमाले
मृतक नवराज बिककी आमाले आफूले पनि ती किशोरीलाई घरमा आउँदा निकै सम्झाएको बताइन् । ‘तिमीहरु ठकुरी ठूला जातका हामी दलितसँग विवाह गर्न राम्रो हुन्न भन्दा पनि दुबैले मानेन । म अस्ति शनिवार घर भएको भए मैले जानै दिँदैन थिएँ । पहिला गयो र प्रहरीलाई बुझाए फेरी त्यस्तै गर्लान् भनेर मैले रोक्ने थिएँ । त्यो केटीले लिन बोलाएकी छ जाऊँ भने छ र साथीहरु लगेर गए छ । त्यो केटीको घर नपुग्दै मेरो छोरालाई गाउँलेहरुले घेर्दै कुट्दै गरेर भेरी नदीमा फाले छन्,’ नवराजकी आमाले भनिन् । उनले केही दिनअघि मात्र घरमा नवराज र ती किशोरीबीच फोनमा कुरा भएको सुनाइन् ।
‘मेरो बाबु आमाले अन्तै बिहे गराइदिन लागेका छन् । पेटमा छ भन्दै थिई । यताबाट छोराले मेरो बच्चा मलाई चाहिन्छ। अरु मलाई केही चाहिँदैन भन्दै थियो,’ उनले भनिन् ।
नवराजकी दिदी सरिताले पनि भाइ नवराज र उनकी प्रेमीकाले फोन र च्याट गरिरहने बताईन् । मृतकका बाबु मुनलाल बिकले छोरालाई हत्या गरेरै भेरी नदीमा फालेको आरोप लगाए । ‘एउटा मात्र छोरा थियो। प्रहरीमा भर्ती हुन थालेको थियो। हामी गरिब दलित हौं । उनीहरु ठकुरी त्यो केटीसँग सम्वन्ध राख्न छाड भनेकै हौं। तर मानेर अहिले ज्यानै हाली दिए,’ बाबु मुमलालले भने ।
मृतकका फुपाजु भरत बिकले पनि नवराजलाई हत्या गरेरै भेरी नदीमा फालेका हुन सक्ने आशंका दर्साए । जाजरकोट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा दर्ता गराउने सहमति नभएसम्म आफूहरुले शव नबुझ्ने मृतककी दिदी सरिता बिक बताउँछिन् । राष्ट्रिय दलित साझ नेटवर्क नेपालको केन्द्रीय कार्यालयले घटना निन्दनीय भएको र गम्भीर छानविन गरि दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ।