कर्णालीका ११ सहित देशभर कोरोना संक्रमितको संख्या ६८२ पुग्यो



सुर्खेत। कर्णाली प्रदेशको दैलेखमा सातैजनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमण पुष्टि भएको छ। उनीहरु गत साता भारतबाट आएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको संक्रमितमध्ये ७ जना दैलेखका छन्। दैलेखको डुङ्गेश्वर नगरपालिकाका ३ जना, नारायण नगरपालिकाका र गुराँस गाउँपालिकाका दुई÷दुईजना रहेका छन्।

नारायण नगरपालिकाका दुईजना पुरुष संक्रमित नगरपालिकाको क्वारेन्टाइनमा २०० जनासँगै बसेको मेयर रतनबहादुर खड्काले जानकारी दिए। क्वारेन्टाइनमै आरडीटी जाँच गर्दा पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर जाँच गरिएको थियो।

यसअघि दैलेखको आठबीसकोटमा कर्णालीकै पहिलो संक्रमित फेला परेका थिए। त्यसपछि पश्चिम सुर्खेतमा एक महिलासहित ३ जनाका पुष्टि भएको थियो। योसहित कर्णालीमा संक्रमितको संख्या ११ पुगेको छ। देशभर ६८२ संक्रमित बनेका छन्। चार जनाको मृत्यु भइसकेको छ।