कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ पुग्यो



सुर्खेत। कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

कर्णाली प्रदेशको प्रयोगशालामा पाँच जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर जाच गर्दा पनि पाँचै जनाको रिपोर्ट पोजेटिभ आएको हो।

दैलेख सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनीहरु सबै भारतबाट आएका हुन्।

संक्रमण पुष्टि भएका पाँचै जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए।

स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका(१ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताए।