ब्राजिल संसारको दोस्रो सबैभन्दा प्रभावित देश



काठमाडौँ। कोरोनाभाइरसको संक्रमणको मामिलामा अमेरिकापछि ब्राजिल संसारको दोस्रो सर्वाधिक प्रभावित देश बनेको छ । ब्राजिलमा हालसम्म ३ लाख ३२ हजार ३ सय ८२ संक्रमित भेटिएका छन्।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ एक हजार १ को मृत्यु भएको छ। देशमा हालसम्म २१ हजार १ सय १६ संक्रमितको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो शहर यो महामारीले सबैभन्दा धेरै प्रभावित पारेको छ। साओ पाउलोबाट यस्तो भिडियो सार्वजनिक भइरहेको छ जसमा फारमोसा चिहानमा खनिएको खाल्डोको लामो लाइन देख्न सकिन्छ ।

धुर दक्षिणपन्थी राष्ट्रपति जायर बोलसोनारोको सरकारले जुन तरिकाले कोभिड–१९ को महामारीलाई ह्यान्डल गरेको छ, त्यसका लागि उनको चौतर्फी आलोचना भइरहेको छ। हाल ब्राजिल एक राजनीतिक संकटतर्फ अघि बढिरहेको छ जसको केन्द्रमा राष्ट्रपति बोलसोनारो नै छन् ।

उनी सामाजिक दुरीको नियमको विरोध गरिरहेका छन्। क्लोरोक्विन जस्तो औषधी कोभिड–१९ को उपचारमा सक्षम छैन, प्रमाणित नभइकनै त्यसको प्रयोगमा वकालत गरिरहेका छन् र यतिमात्र होइन, स्वास्थ्य विभागका अनुभवी अधिकारीसँगको उनको कुरा मिलिरहेको छैन।

यी कारणसहित कुनै बेला सेनाका अधिकारी रहेका बोलसोनारोको लोकप्रियता तीब्र रुपमा घटिरहेको छ। ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देशमा कोरोना परीक्षण चुस्त बनाउनुपर्नेमा सुस्त देखिएको छ। यसकारण त्यहाँ संक्रमित र मृतकको संख्याको वास्तविक आँकडा सरकारी तस्विरभन्दा निकै धेरै हुनसक्ने अनुमान गरिएको छ।

ब्राजिलमा कोभिड–१९ को महामारी तीब्र रुपमा विकराल रुप लिइरहेको छ। सोमबार संक्रमणको मामलामा ब्राजिलले ब्रिटेनलाई पछि पार्दै तेस्रो सबैभन्दा प्रभावित देश बनेको थियो। शुक्रबार ब्राजिल रुसभन्दा पनि अघि बढ्यो।

यद्यपि, ब्राजिलले अमेरिकालाई चाँडै नै उछिन्ने सम्भावना भने कम छ। संसारको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश अमेरिकामा कोरोना १६ लाखभन्दा बढि संक्रमित छन्।

जबदेखि कोभिड–१९ को महामारी सुरु भएको छ, राष्ट्रपति जायर बोलसोनारोको सरकारका दुई स्वास्थ्यमन्त्रीले पद छोडिसकेका छन् । यी स्वास्थ्य मन्त्रीमाथि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन जस्ता मलेरियाका औषधीलाई प्रयोग गर्न दबाब दिइएको बताइन्छ।स्वास्थ्य विभागका अन्य थुप्रै अधिकारीले राजीनामा दिएका छन्। उनीहरुको साटो सेनाका अधिकारीलाई नियुक्त गरिएको छ।

स्रोतः बीबीसी