काठमाडौँ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ। भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे। उनको बिहान ७ बजे मृत्यु भएको बताएका छन्।
मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन्। शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए।
उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ।
यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो। हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन्।