विदेशबाट हरेक दिन ६ हजारको उद्धार गर्ने प्रस्ताव



काठमाडौँ। सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरूको उद्धार गर्ने तयारी गरेको छ। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ।

‘यूएईलगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाब समेत दिन थालेका छन्। त्यसैले उद्धारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भरपर्छ।’ यसअघि पनि विदेशमा रहेका नेपालीहरूको उद्धारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए।

प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्धार गर्ने समितिको तयारी छ। उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात् भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ। ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरू हुनेछन्’ स्रोतले भन्यो।

अनलाइनखबरका अनुसार यसरी उद्धार गरेर ल्याइनेहरूलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ। यसमा लाग्ने खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैँले व्यहोर्नुपर्ने उल्लेख छ।

केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ। स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तत्काल उद्धार गर्नुपर्नेहरूको संख्या केही लाख हुनेछ।