काठमाडौँ। कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ। मङ्गलबार साँझ आएको पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी स्रोतले बताएको छ।
संक्रमणको कुनै संकेत नदेखिएको भएपनि गत आइतबार वृत्तमा कार्यरत केही प्रहरीहरुको स्वाब टेष्ट गरिएको थियो। उक्त टेष्टको रिपोर्ट मङ्गलबार साँझ आएको र उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले बताएको छ। कोरोनासंक्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ।
पूरै वृत्त सिल, ड्युटी बन्द
महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ । वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको थियो। वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ।
कोरोना संक्रमण पुष्टी भएका सई र जवान पनि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए। अब उनीहरुको परिवारको सदस्यको पनि नमुना सङ्कलन गर्न लागिएको प्रहरीले जनाएको छ।
वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ। अब ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको छ।