नेपाल-भारतबीचको कालापानी विवादबारे चीनले मुख खोल्यो



काठमाडौँ। चीनले कालापानीको सीमा विवादबारे मुख खोलेको छ। कालापानीको विवाद नेपाल र भारतबीच भएको स्पष्ट पारेको छ। साथै चीनले दुई देश नेपाल-भारतले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि तीव्र विवाद सिर्जना भएको छ। त्यसको नेपालले विरोध गरेको छ भने, सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ।

तर, यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन्।’ साथै चीनले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, त्यसबाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ।