मन्त्रिपरिषद बैठकद्वारा नेपालको नयाँ नक्सा प्रकाशित गर्ने निर्णय पारित



काठमाडौँ। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए।

भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो। त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो।

तर सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गर्‍यो। नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ।

अहिले फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्‍यो। त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको छ।

सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले कोरोना संकटपछि भनेको छ। त्यसैले सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो।

जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो। त्यसअनुसार भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा निर्णय भएको एक मन्त्रीले जानकारी दिए।