काठमाडौं। सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ।
‘कोभिड–१९’ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ।
‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाव समेत दिन थालेका छन्। त्यसैले उद्दारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भर पर्छ। यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए। प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ।
उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ। ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरु हुनेछन्’ स्रोतले भन्यो।
यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ। र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ।
केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ। स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ। परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या केही लाख हुनेछ ।