नेपालमा कोरोनाबाट अर्को एक जनाको ज्यान गयो



काठमाडौँ। नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे। मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए। क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो।

त्यस्तै शनिबार सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया एक महिलाको कोभिड १९ बाट मृत्यु भएको थियो। उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले मृत्यु घोषणा गरेका थिए। कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो।