काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जना महिलाको मृत्यु भएको छ।
सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया एक महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो। त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो। स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो।
धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले मृत्यु घोषणा गरे। कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ।
शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ। टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ।