काठमाडौँ। धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ।
कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।
तर, सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको खुलाएको छैन। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझ महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका छन्।
नेपाल प्रहरीका एक अधिकृतले महिलाको दाहसंस्कार गर्ने तयारी भइरहेको बताए। उनले भने, ‘शव बाहनमार्फत पशुपति आर्यघाट लाँदैछौं।’
दाह संस्कारबारे यस्तो छ व्यवस्था
कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउने भनिएको छ। साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि भनिएको छ।
मृतकको जथाभावी सदगतलाई पनि निषेध गरिएको छ। शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ।
साथै, शवलाई कमभन्दा कम चलाउने भनिएको छ। शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ।
‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ।’
मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एकरएक जनालाई पालैपालो गरी हेर्न दिन सकिने कार्यविधिमा उल्लेख छ।
कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ। साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ।