भारतले भन्यो, “चीनको आदेशमा नेपालमा आन्दोलन”



काठमाडौं। भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नाराभानेले दिल्ली र काठमाडौँबीच जारी तनावमा चीनको हात रहेको आरोप लगाएका छन्।

लिपुलेकमा भारतले निर्माण गरेको सडकको विरुद्धमा नेपालमा भइरहेको प्रदर्शनप्रति इशारा गर्दै उनले यसलाई चीनले उचालेको दाबी गरेका हुन्।

एक अनलाइन कन्फरेन्समा उनले भने, ‘मलाई थाहा छैन उनीहरु किन आन्दोलन गरिरहेका छन् । उनीहरुले अरुकै आदेशमा यो समस्या उठाएको कुरा पत्याउने कारण छ र यसको सम्भावना पनि छ।’

गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तराखण्डबाट नेपाली भूभाग लिपुलेकसम्मको ८० किलोमिटर लामो सडकको उद्घाटन गरेका थिए। त्यसयता नेपालमा भारतविरोधी प्रदर्शन जारी रहेको छ।

थिंक ट्यांकले आयोजना गरेको उक्त कार्यक्रममा सेना प्रमुख नाराभानेले काली नदीको पूर्वको भाग नेपालको भएको र पश्चिमी भाग भारतको भएकोमा जोड दिए। उनले भने, ‘यसमा कुनै विवाद छैन। हामीले नदीको पश्चिमपट्टी बाटो बनाएका हौँ।’

उनले भारत र चीनका सेनाबीच लद्दाख र सिक्किममा भिडन्त भएपछि चीनले नेपाल र भारतबीच तनाव सिर्जना गर्न खोजेको आरोप लगाए।