कोरोना महामारीमुक्त देश बनाउने लक्ष्य बजेटको उच्च प्राथमिकतामा



काठमाडौँ। सरकारले कोरोना महामारीमुक्त देश बनाउने लक्ष्य बजेटको पहिलो प्राथमिकतामा समावेश गरेको छ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई कोरोना महामारीमुक्त बनाउने लक्ष्य बजेटको पहिलो प्राथमिकता कुरा बताएकी हुन्।

नेपाललाई कोरोनामुक्त देश बनाउन सरकारको पहिलो प्राथमिकता रहेको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले बताइन्। संक्रमणको परीक्षणलाई व्याक बनाइने, चिकित्सक, औषधिको कुनै अभाव हुन नदिने पनि सरकारको नीति छ। कसैको पनि ज्यान जान नदिने गरी सरकार दृढतापूर्वक लागिपरेको पनि राष्ट्रपतिले बताइन्।

सरकारले कोरोनाभाइरसका कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको छ।

अधिकांश मुलु्कको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने देखिएको सन्दर्भमा जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको छ।

यस्तै आर्थिक क्रियाकलाप, कृषि, विकास निर्माणका कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिइ सुचारु गरेर तीव्रता दिने पनि सरकारको नीति रहेको छ। स्वास्थ्य, शिक्षा, लैंगिक समानता र अन्य सामाजिक सांस्कृतिक कार्यक्रम सञ्चालन र सेवा प्रवाह गरी स्वस्थ, शिक्षित र गतिशिल सामाजिक जीवन कायम गरिने सरकारको नीति रहेको छ।

सरकारले सुरु गरेका आयोजनाहरु तोकिएको समयमा सम्पन्न गर्ने पनि सरकारको भनाइ छ। फजुल खर्च रोक्ने, उत्पानशील क्षेत्रमा लगानी केन्द्रीत गर्ने तथा वित्तीय अनुशासन कायम गर्ने पनि सरकारको नीति छ। स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी काम गर्ने पनि सरकारको नीति छ।