काठमाडौँ। कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ।
हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६५ जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ। गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य थालिसकेको स्रोतले बतायो। स्रोतका अनुसार बिहीबारबाट सशस्त्र प्रहरीका इञ्जिनियरले दार्चुलाको छाङरुमा भवन निर्माणका लागि नाप, नक्साको कार्य सुरु गर्नेछन्।
स्रोतले भन्यो, ‘अहिले १५ रोपनी जग्गा सशस्त्रको नाममा आइसकेको छ, ९ करोड रुपैयाँको लागतमा भवन बनाउँदैछ।’ यसका लागि केही दिनमै बोलपत्र आह्वान गरिने जनाइएको छ।
अनलाइनखबर अनुसार सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि छाङरुमा गुल्म राख्ने गरी तयारी गरिएको बताए। उनले भने, ‘हाम्रो प्रस्ताव गुल्म नै राख्नुपर्छ भन्ने हो, त्यही अनुसार तयारी भइरहेको छ।’