सर्वदलीय बैठकले भन्यो, ‘लिपुलेक हाम्रो हो, भारतसँग उच्चस्तरको वार्ता आवश्यक’



 

काठमाडौँ। प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले लिपुलेकबारे जनतालाई विश्वासमा लिएर भारतसँग उच्चस्तरको वार्ता गर्न सरकारलाई सुझाव दिएका छन्।

गत शुक्रबार भारतले नेपालको लिपुलेकहुँदै चीनको मानसरोवरसम्मको रोड उद्घाटन गरेपछि नेपालमा भारत विरुद्ध चर्को विरोध भएको छ। यसै सन्दर्भमा बुधबार प्रधानमन्त्री केपी ओलीले सर्वदलिय वैकठको आह्वान गरेका थिए।

बैठकमा सहभागी सबैले एक स्वरमा विवादीत् बनेको भूमि नेपालको भएको र उक्त भूमि फिर्ता ल्याउनु पर्ने बताएका छन्। ‘सबैले एक स्वरमा अहिले जे विवाद भइरहेको छ, जुन क्षेत्रमा विवाद भइरहेको छ। त्यो नेपालको भूभाग हो भन्नेमा दृढ अभिमत प्रकट गर्नु भएको छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘आफ्नो भूभाग फिर्ता गर्ने सरकारका हरेक प्रयासमा साथ रहने विश्वास र बचन दिनुभएको छ।’

उनले अघि भने, ‘सबै प्रतिनिधिले प्रभावकारी कूटनीतिक कदम चाल्न र त्यसका लागि जनतालाई साथमा लिन आग्रह गर्नुभएको छ।’ दलका नेताहरुले सरकारको कदम प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले वक्तव्यबाजी गर्नुको साटो उच्चस्तरमा सार्थक सम्वाद गर्न आग्रह गरे।

यसैगरी पूूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आन्तरिक रुपमा राष्ट्रवादको कार्ड नखेल्न र उच्चस्तरीय राजनीतिक आयोग बनाएर काम गर्न सुझाएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विश्वासमा लिनुपर्ने उनको जोड थियो।

राप्रपा अध्यक्ष मध्येका एक प्रकाशचन्द्र लोहनीले सरकारले जति तदारुकता देखाउनुपर्ने हो, त्यो हुन नसकेको बताए । उनले अघि भने, ‘अब भारतसँग कूटनीतिक माध्यमबाट सम्वाद गर्दा जनतालाई विश्वासमा लिएर जानुस्, भित्रभित्र राखेर लुकाउने काम गर्नु भएन ।’

जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा प्राप्त भएको एकताका लागि धन्यवाद दिएका छन् र यो भोलिसम्म कायम रहने विश्वास व्यक्त गरेका छन् । ‘पूर्खाहरुले लडेर बचाएको नेपालाई हामीले अडेर बचाउनुपर्छ’ बैठकमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकार राजनीतिक दल र जनताको साथ लिएर अगाडि बड्नेछ ।’

भारतसँग असल मित्रता चाहेहेको तर नेपालको भूभागको रक्षा र राष्ट्रिय हितको रक्षा सर्वोपरी हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । कूटनीतिक वार्ता प्रभावकारी भएकाले तत्काल सम्वाद चाहेको भन्दै उनले भने, ‘वार्ताका लागि कोरोना कारण हुने तर आफैंले नसुझिएको बाटो उद्घाटन गर्न नसक्ने यो ठीक भएन ।’नेपाल आफूले पठाएको कूटनीतिक नोटको जवाफको पर्खाइमा रहेको उनले बताए।