सुरक्षाकर्मी र पत्रकारको कोरोना परीक्षण गर्न कांग्रेसको माग



काठमाडौँ। नेपाली कांग्रेसले सुरक्षाकर्मी र पत्रकारहरुको कोरोना संक्रमण परीक्षण गर्न माग गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी र समाचार संकलन गर्ने पत्रकारहरुको कोरोना परीक्षण गर्नुपर्ने काग्रेसको सुझाव छ।

‘सुरक्षाकर्मी र पत्रकारमा पनि एकै दिन संक्रमण देखिएको छ। उहाँहरुको परीक्षणलाई व्यवस्थित गर्न अपिल गर्न चाहन्छौं’ शर्माले भने, ‘उहाँहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था गर्न पनि अपिल गर्न चाहन्छौं।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिने कोरोना एन्टीबडी परीक्षणमा शंका उत्पन्न भएकाले त्यसलाई रोक्न मागसमेत गरेका छन्।

सरकारको विपद व्यवस्थापन कोषमा पहिले नै डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम रहेको र अहिले कोरोना रोकथाम कोषमा ३ अर्ब रुपैयाँ जम्मा भइसकेको भन्दै उनले त्यसलाई स्थानीय तहमार्फत राहतमा प्रयोग गर्न सुझाव दिए।

शर्माले वेरोजगार र विद्यार्थीलाई राहत उपलब्ध गराउन आग्रह गरे। कोरोना महामारी र लकडाउनका कारण व्यवसायीसमेत संकटमा परेका भन्दै कांग्रेसले बैंक ब्याजदर घटाउन वा मिनाहा गर्ने सहुलियत दिन पनि माग गरेको छ।