आगामी बजेट स्वास्थ्य, शिक्षा र रोजगारमा केन्द्रित हुनुपर्छ: नेता बराल



काठमाडौँ। अनेरास्ववियूकी नेता सुनिता बरालले आगामी बजेटमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने सुझाव दिएकी छन्। साथै उनले सामाजिक रुपान्तरणमूखी परिवर्त देश विकासका लागि सहयोगी कदम बन्ने बताएकी छन्।

सोमबार सामाजिक सञ्जाल मार्फत नेता बरालले लेखेकी छन्, ‘अहिले हाम्रो सामु भएको विद्यमान अवस्थालाई सकारात्मक सामाजिक रुपान्तरण मार्फत ब्यवस्था परिवर्तन गर्नु देश विकासका लागि सहयोगी कदम बन्नेछ। शैक्षिक क्यालेन्डरको अस्तब्यस्तता, राज्यको निकायहरूको निरिहता, हामीसँग उपलब्ध जनशक्तिको कार्यकौशलता र हाम्रा स्रोत साधनको उपयोगीतामा कहाँ छौं ? भन्ने यो विषम परिस्थितिमा प्रष्ट भएको छ।’

उनले अगाडि लेखेकी छन्, ‘कोरोना भाइरसले एक लयमा सुतेको विश्वलाई बिउझाएको छ, हजारौं पुस्तकले दिन नसकेको ज्ञान दिएको छ। स्वास्थ्य राज्यको दायित्वमा किन हुने ? भनेर अब सायदै कसैले प्रश्न गर्दैन। शिक्षाको महत्त्व हाम्रा दैनिक जीवनका व्यबहारबाट प्रष्टिदै छन्। साथै आधारभुत रोजगारीको विषय पनि राज्यको दायित्वमा रहनुपर्छ।’

हाल संसदमा छलफलका रुपमा रहेको वजेटमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता राख्नुपर्ने नेता बरालको सुझाव छ। उनी लेख्छिन्, ‘पैसाको बलमा महाशक्ति बनेको अमेरिकाले त आज बैज्ञानिक पद्धतिको ज्ञान, प्रविधि र शिक्षाको जग बलियो बनाउन आवश्यक ठानेको परिस्थितिमा हामीलाई त यो अवसर बन्न सक्छ। हाम्रो देशमा बजेटको छलफल चलिरहेको यो उपयुक्त समयको उपयोग शिक्षा, स्वास्थ्य र आधारभुत रोजगारिमा बजेटका प्राथमिकतामा पार्न पर्ने आवश्यतालाई सबैले आफ्नो ठाउँबाट ध्यानाकर्षण गराउने कि?’