नेपालीहरुको उद्दारका लागि संसदमा गगन थापाद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

सांसद थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा अर्की सांसद डिला संग्रौला र प्रकाश रसाइली रहेका छन्। आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ।

जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने प्रस्ताव छ। यस्तै भारतबाट जोखिमपूर्ण ढंगले आउने क्रम रोक्न नेपालीलाई सीमित र निश्चित नाका खुला गरेर अलपत्र परेकाहरुलाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने कांग्रेसका तीन सांसदको प्रस्ताव छ।

यसरी ल्याएकालाई परीक्षण गरेर घर पठाउने तथा भारतमै रहेका तर, खाना र आवासको समस्या भएकालाई दूतावासमार्फत व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

यसका साथै अध्ययन, भ्रमण र भेटघाटका लागि गएर जोखिममा नभएका तर आफ्नै खर्चमा फर्किन चाहेनहरुलाई पनि सुरक्षा र स्वास्थ्य मापदण्ड पुरा गरेर ल्याउने वातावरण बनाउनुपर्ने तीन सांसदको संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।