काठमाडौँ। चौतर्फी सुरु भएको दवावपछि नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न कोरोना अन्त्यसम्म पर्खिन नसक्ने बताएको छ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालमा भारत विरोधी आन्दोलन चलिरहेका छन्। साथै, त्यसलाई यथास्थितिमा राख्न पनि नेपालले माग गरेको छ।
जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गर्दै सीमा समस्याबारे कोरोना भाइरस (कोभिड—१९) को महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको बताएको थियो।
गत शनिबार भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य आएको थियो। उक्त वक्तव्यमा कोरोनापछि वार्ता गर्न तयार रहेको कुरा उल्लेख गरिएपछि नेपालमा झन् चर्को विरोध भएको हो। भारतले २०७२ मा भूकम्पले थिलथिलो बनेको नेपालमाथि नाकाब्नदी लगाएको थियो। त्यसैबेलादेखि निमार्ण कार्य थालनी गरिएको भारतको धार्चुलादेखि, नेपालको लिपुलेकहुँदै चीनको मानसरोवरसम्म पुग्ने सडक गत शुक्रबार कोरोनाको मौका पारेर भारतले उद्घाटन गरेको थियो।
भारतले पर्खिन भनेको समयसम्म पर्खिन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अस्ति भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेरेँ। कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ। हामी त्यति पर्खिने पक्षमा छैनौं। छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ।’
समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाएका थिए। भर्चुअल वार्ताको डाटा सुरक्षालगायतको प्रश्न उठ्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए। तर, सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा नरहेको उनले बताए। मन्त्री ज्ञवालीले भने, ‘नोभेम्बर २ देखि निरन्तर ताकेता गरिरहेका छौं।’