‘गाउँपालिका अध्यक्ष बममाथि आक्रमण हुनु निन्दनीय घटना’



कालिकोट। राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बमले जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बममाथिको आक्रमण निन्दनीय भएको टिप्पणी गरेका छन्।

नेकपा कालिकोटका सचिवालय सदस्य समेत रहेका बमले पार्टीमा आन्तरिक विवाद भए मिलाएर जान सकिने बाटो हुँदाहुँदै अध्यक्षमाथि भौतिक आक्रमण हुनु दु:खद भनेका छन्।

सामाजिक सञ्जाल फेशबुकमार्फत नेता बमले विगत लामो समयदेखि जारी आन्तरिक विवादलाई पार्टी नेतृत्वले मिलाउन नसक्दा घटना भएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘लोकतान्त्रिक पद्दतिलाई आत्मसात् गर्दै अघि बढ्नुको साटो पलाँतामा पाखुराको भरमा मार्ग निर्धारण गरिँदैछ। आज कालिकोटको पलाँता गाउँपालिकामा जुन घटना घटेको छ। त्यो निकै निन्दाजनक छ। समस्याको सावधान गर्ने तरिका वार्ता र कुटनीतिक पहल हो। यसरी समूदायलाई नै बिभाजित गर्ने गरिमालाई अस्थिर बनाउनको लागि घटना जो कोहीले घटाएको होस्। उसलाई कारबाही हुनुपर्छ।”

उनले अगाडि लेखेका छन्, ‘यो घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु। साथै झडपमा परि घाइते हुनुभएका सम्पुर्ण जनप्रतिनिधि अध्यक्ष, उपाअध्यक्ष, वडा अध्यक्षलगायत नेकपा गाउपालिकाका पारर्टी अध्यक्ष र अन्य राजनीतिक नेता कार्यकर्ता साथीहरुलाई स्वस्थ्यलाभको कामना।’

गाउँपालिकाको वडा नम्बर ०१ का वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटपिट गरेका हुन्।

पलाँता गाउँपालिका–०१ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा झडप भएको हो।

झडपमा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवत्ता लोकनाथ तिमिल्सेनाले जानकारी दिएका छन्।