काठमाडौँ। भारतले नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेको छ।
शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ। भारतीय रक्षामन्त्रीले भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भएको उक्त सडक लिपुलेक हुँदै चीनको कैलास मानसरोवर जोड्न सफल भएको दाबी गर्दै सडकको उद्घाटन समेत गरिसकेका छन्।
भारतले केही महिना लगाएर निर्माण गरिसक्दा पनि उक्त सडक निर्माणबारे नेपाल बेखबर रहेको बताइन्छ। नेपालले सो कार्यलाई पूर्वसमझदारी विपरित चालिएको कदम भनेको छ। यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ।