काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारत सरकारलाई लिपुलेक, कालापानी र लिम्पुवा धुराबाट ब्याक हट्न आग्रह गरेको छ।
भारतले एकलौटी रुपमा नेपालको भुुमि प्रयोग गर्दै मानसरोवर जाने सडक बनाएपछि नेकपाको अन्तराष्ट्रिय व्युरोले नेपाली भुमि छोड्न आग्रह गरेको छ।
व्युरो इन्चार्ज कन्चनले एक विज्ञप्ति जारी गर्दै कालापानीको सेनालाई पनि फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेका छन्। यदी हटेरी गरे नेकपाले प्रतिरोध गर्ने कन्चनको भनाई छ। नेकपाले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ।
पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय सदस्यसमेत रहेका कञ्चनले नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसद्वादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट पारेको बताएका छन्। उनले यस्तो नपुंसक, दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीलाई अपिल पनि गरेका छन्।
ब्युरो इन्चार्ज कञ्चनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल वैशाख २५ गते भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको समाचार प्रकाशनमा आएको छ। भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ। त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ। हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालको भूमि हडप्ने भारतीय साम्राज्यवादी हर्कतको भत्र्सना विरोध गर्दछ।’
कञ्चनको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस क्षेत्रबाट भारतीय हर्कत पूर्ण रूपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसँग माग गर्दछ। साथै त्यहाँबाट नहटेमा राष्ट्रिय स्वाधीनताको सङ्घर्ष गर्ने चेतावनी दिन चाहन्छौँ। नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रूपमा प्रकट भएको छ।’
विज्ञप्तिमा भनिएको छ, ‘भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू ठाउँठाउँमा मिचिँदा पनि संसद्वादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन पराधीन बनाउन लागेको छ। यस्तो नपुंसक, दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीमा हार्दिक अपिल गर्दछ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ,‘भारतले नेपालको भूभाग हडप्ने प्रक्रियामा परोक्ष–अपरोक्ष सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई हाम्रो पार्टी अपिल गर्दछ। नेपालको सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादले हमला गरेको मामिलामा संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय निकायहरूलाई ध्यान पुर्याउन पनि हाम्रो पार्टी आग्रह गर्दछ।’
‘विज्ञप्तिको पूर्णपाठ‘