पलाँता गापा अध्यक्ष बममाथि आक्रमण



कालिकोट। जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बममाथि स्थानीय र केही वडाका जनप्रतिनिधिहरुले आक्रमण गरेका छन्।

गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएको प्रहरीले बताएका छन्।

पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवत्ता लोकनाथ तिमिल्सेनाले जानकारी दिएका छन्।

‘बिहान ११ बजेतिर गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडा अध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण भएको हो’ उनले भने, ‘वडा अध्यक्षलगायतको टोलीले गरेको आक्रमणमा परि गाउँपालिका अध्यक्ष बम, उनी श्रीमति र भतिजा सामान्य घाइते भएका छन्।’

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवत्ता तिमिल्सेनाले जानकारी दिए। ‘अहिले घटनास्थलमा थप सुरक्षा फौज गएको छ’ उनले भने, ‘अहिले स्थिति सामान्य रहेको छ।’

अहिलेसम्म घटनामा संग्लन रहेका कुनै पनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। गाउँपालिका अध्यक्ष बम र वडा अध्यक्ष भण्डारी पूर्व माओवादी केन्द्रबाट विजयी भएका थिए।