काठमाडौं। यतिबेला विश्व मानव समूदाय कोरोनाबाट त्राहिमाम बनेको छ। तर, हाम्रो देशमा घटिरहेका विभिन्न घटनाहरुले कोरोनाको कहरलाई फिक्का बनाइरहेको महसुस हुन्छ।
केहीदिन अघि सरकारले दुईवटा अध्यादेश ल्यायो। संवैधानिक आयोग र दलविभाजन सम्बन्धी ती अध्यादेश निक्कै विवादमा परेपछि फिर्तासङ्गै खारेज गरिए। जुन मुद्दामा सरकार नराम्रोसङ्ग चुक्यो। आजसम्म पनि सरकारको उक्त स्वेच्छाचारी कदमलाई लिएर राजीनामासम्म माग्न थालिएको छ। फिर्तासँगै खारेज भएका अध्यादेशका कारण सरकारी नेकपाभित्र चर्को रडाको जारी छ।
यसैबेला शुक्रबार देशको मुटु बानेश्वरको संसद भवनमा बजेट अधिबेशन सुरु भएको थियो। सांसदहरुका गरमागरम तर्कले मिडिया तातीरहेको बेला एक्कासि सिंहदरवार अगाडिको सडकमा प्रहरी र चिनियाँ नागरिकबीच कुटाकुट भयो।
त्योसङ्गै भारतले नेपाली भूमी लिम्पियाधुरा क्षेत्रमा एकतर्फी रुपमा करिब ८० किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरेर उद्घाटन गरेको खबर आयो। यी दुई विषय अहिले सामाजिक संजालमा निक्कै चर्चामा छन्। चिनियाँ नागरिकहरुको मागअनुसार उनीहरू आफ्नो दूतावास जानुपर्ने हो। तर, निषेधित क्षेत्रमा किन पुगे? उनीहरू परिचालित हुन् या के हुन् ? त्यसको बारेमा जानिन्छ या यसै छोडिन्छ? त्यो हेर्न बाकी छ। त्यसैमा प्रहरीमाथी उनीहरुले गरेको हर्कतलाई ठिक थिएन भन्नेहरू पनि छन्।
यता भारतीय दादागिरीका विरुद्ध पनि उत्तिकै आवाज उठेका छन्। तर, यसपालि भारतीय विस्तारवादी चरीत्र र हेपाह प्रवृत्तिका विरुद्धमा मात्रै आवाज उठेनन्। नेपाल सरकारको बारेमा पनि गम्भीर प्रश्न उठेका छन्। यसले नागरिकहरुमा चेतनाको स्तर बिस्तारै उठ्दैछ भन्ने देखाउछ। ‘आफ्नो थैलो बलियो बनाउनु पर्छ, चोरको कुरापछि आउँछ’ भन्ने नेपालीमा मान्यता छ।
भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्सबाट उद्घाटन गरिएको धार्चुला, नेपाली भूमी लिपुलेखहुँदै चिनको मानसरोवर जोड्ने सडकका बारेमा नेपाल सरकार गम्भीर हुनुपर्छ भन्नेमा कुनै दुईमत छैन।
तर, राष्ट्रवादी देखिन प्रधानमन्त्री केपी ओली सरकारले जान्दाजान्दै भारतसङ्ग किन उचित वार्ता गरेन ? भन्ने प्रश्न उठेको छ। भनिन्छ त्यो सडक आजभन्दा १० बर्ष पहिले नै सर्बे भएको थियो! आजभन्दा ६/८ महिना पहिले पनि नेपालको लिम्पियाधुरा क्षेत्र भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि चर्की बिरोध भएको थियो। त्यो बेलामै यस सडकको बारेमा सरकार जानकार थियो।
त्यो बेलामा सरकारको खासै बिरोध भएन। यसपटक सत्तामा रहेका प्रधानमन्त्री, मन्त्रीहरु, सेना, प्रहरी सबैमाथी प्रश्न सोझिएको छ। अरुलाई गाली गर्नुभन्दा पहिले हाम्रा साशकहरुको चरित्रमाथी संसय पैदा भएको छ। भारतसँगको सीमा विवाद अन्त्यका निम्ति वार्ता, कुटनैतिक पहल थाल्न सरकारलाई नागरिकहरुले सुझाव दिएका छन्।
यसै सन्दर्भमा अनेरास्ववियूकी नेता आरती लामाले सरकारी तयारी, वार्ता र कुटनैतिक पहलमाथी प्रहार गरेकी छन्। उनले अरुलाई गाली गर्नुको साटो हामी आफू को हौं ? त्यो पत्ता लगाउनुपर्छ भन्ने कुरामा जोड दिएकी छन्। साथै उनले क्रान्तिकारी पल्टिनको लागि भारतको विरोध गर्न मुड नभएको समेत व्यङ्ग्य गरेकी छन्।
उनले देशको माया भएर पनि अहिले अरुको बिरोध गर्नु “अर्थ न पर्थको गोबिन्द गाई”को टिप्पणी गरेकी छन्। उनले सामाजिक संजाल फेशबुकमा लेखेकी छन्, “हामी जहिले ढिलो बिरोध गर्छौ। जबकी मानसरोवर जाने सडक बन्दै गरेको भन्ने सूचना हामीले सडकमा “भारतिय सेना, हाम्रो भुमी बाट फिर्ता जा” भनेर आन्दोलन गरे ताका नै थाहा पाइसकेका थियौं। नेपाल सरकारले यति सुचना त नराखेको त पक्कै नहोला ! त्यसैले अहिले आएर निकै क्रान्तिकारी, राष्ट्रवाद देखाएर मलाई भारतीय बिस्तारवाद मुर्दावाद भन्ने पट्कै मन छैन! धन्यवाद!”