काठमाडौँ। भारतले नेपाली भूमि लिपुलेकहुँदै चीनमा रहेको धार्मिकस्थल मानसरोवर जोड्ने सडक मार्गको सिलान्यास गरेको छ।
नेपाल-भारतकमो विवादित भूमिमा भारतले एकतर्फि सडक विस्तार गरेपछि नेपालमा भारतको चर्को विरोध भएको छ। यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस प्रकरणका बारेमा सरकारको आधिकारिक धारणा माग गरेको छ।
शुक्रबार काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गरी सरकरको धारणा माग गरेका हुन्। लिपुलेक नेपालको भुमि हो, हामी प्रष्ट छौं । चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा चाहन्छौं? प्रधानमन्त्री ओलीलाई प्रवक्ता शर्माको प्रश्न छ।
उनले अगाडि लेखेका छन्,‘नेपाली भूभागबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराउँदछौं।’
नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन्। भारतीय रक्षामन्त्री सिंहले ट्विटमार्फत मानसरोवर जाने लिंह रोडको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका थिए।
बोर्डर रोड अर्गनाइजेसन ‘बीआरओ’ले धार्चुलादेखि लिपुलेक जोड्ने उपलब्धि हासिल गरेको भन्दै उनले भिडियो कन्फरेन्समार्फत उत्तराखण्डको पिथोरागढदेखि दार्चुलाको गुन्जीसम्म सवारीको जत्था प्रस्थान गरेको बताएका थिए।
भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि मिचेपछि उत्पन्न समस्या कूटनीतिक माध्यममार्फत समाधान नभइरहेको अवस्थामा फेरि नेपाली भूमिमै चीनसँग सीमा जोड्ने नाकासम्म सडक मार्ग निर्माण गरेपछि थप समस्या उत्पन्न भएको छ।
यता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले सडकमार्ग खुला गरेको विषय आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।