बाबुराम भट्टराईले ओलीलाई भने, ‘जिर्ण स्वास्थ्यलाई आरम दिनुहोस्, राजीनामा दिनुहोस्’



काठमाडौँ। जनता समाजवादी पार्टी नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शुक्रबार डा. भट्टराईले जीर्ण शरीरलाई आराम दिन र प्रधानमन्त्री पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेका छन्।

उनले भने, ‘पदमा कति बस्यो भन्ने कुरा महत्वपूर्ण हुँदैन। पदमा रहँदा के के गरियो त्यो कुरा महत्वपूर्ण हुन्छ। प्रधनमन्त्री ओलीले एउटा हाइट बनाउनु भएको छ। यसलाई कायम राख्न र देशलाई समृद्धिको मार्गतिर लैजानका लागि उहाँले उचित निर्ण गर्नु हुनेछ। शिखर चढ्न सजिलो हुन्छ। तर, खिखरमा टिक्न सकिँदैन। उहाँ अहिले शिखरमा हुनुहुन्छ। घोडनालाई खोलासम्म लान सकिन्छ। तर, पानी खुवाउन सकिँदैन।’

उनले अगाडि भने, ‘राजनीतिक दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत गर्न थाल्नु भयो। यस्ता हर्कतहरु फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने अवस्था रहँदैन। यसका बारेमा उचित निर्णय हुनुपर्छ।

सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको र उनीहरुविरुद्ध जाहेरीसमेत नलिएको उनले बताए। भट्टराईले अघि भने, ‘उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने?’

प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे। ‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ। त्यही रहनुस्’ उनले अघि भने, ‘तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ। रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ। लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ।’

ओलीको विकल्प के हुन्छ भन्ने प्रश्न उठ्ने भन्दै उनले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गरे। ‘६०र६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ। लोकतन्त्र सुदृढ हुन्छ’ उनले भने।

प्रतिस्पर्धासँगै न्यूनतम राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले कांग्रेस कम्युनिस्ट, पहिचानवादी शक्तिहरुबीच मेलमिलाप कायम गर्न आग्रह गरे। ‘तर तपाईहरुको सरकार गिरोस्, फेरि च्याखे थापेर सरकारमा जाउँ भन्ने मनसाय छैन। तपाईहरुले आफ्नै पार्टीका असल मान्छेहरुलाई अगाडि बढाउनुस्। पाँच वर्षलाई जनताले जनादेश दिएका छन्। त्यहाँ हाम्रो दाबी हुँदैन’ उनले भने, ‘तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गरेर जाऊँ।’

यसका लागि टीकापुर घटनामा दोषी ठहर भएर निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र नेपाल कम्युनिष्ट पार्टी विप्लवलाई क्षमादान दिएर सहमतिमा ल्याउन पूर्वप्रधानमन्त्री डा.भट्टराईले आग्रह गरेका छन्।